१५ अगष्ट २००९ स्याटेलाइटले लेखेको “कहिले सुध्रिएलान् अध्यागमनका अल्छी कर्मचारीहरु” शीर्षकको ब्लग (ब्लग हेर्न यहाँ क्लिक गर्नुस्) लाई कपोलकल्पित, दुराशयपूर्ण र स्वार्थभावले प्रेरित भन्दै अध्यागमन विभाग माइतिघरका अध्यागमन अधिकृत शेषनारायण पौडेलले पठाएको खण्डन जस्ताको तस्तैः
सर्वप्रथमत उक्त ब्लगमा अध्यागमन विभागको मुद्दा शाखाको सम्बन्धमा अतिरञ्जित आरोपहरु लगाइएको र दुराशयपूर्ण तवरले रित्तो रहेको भनी म बस्ने कुर्सी देखाइएकोले महाशयका आरोपहरुलाई देहाय बमोजिम बूँदागत रुपमा खण्डन गर्न चाहन्छु-
१. महाशयको लेखको पाँचौ हरफमा उल्लेख भएको उक्त इराकी नागरिक अनेशलाई पहिलो दिन साउन २६ गते एयरपोर्टबाट माइतिघरस्थित अध्यागमन विभागमा छानबिनको लागि ल्याइएकोमा छानबिन गरी महावीर पुनको जिम्मा लगाउन ५ घण्टा लाग्यो भन्ने वाक्य नै महाशयको आरोप बदनियतपूर्ण छ भनी प्रमाणित गर्न काफी छ। निज इराकी नागरिकलाई एयरपोर्टबाट दिउँसोको करिब १ बजे विभागमा ल्याइएको थियो। निजसँग महावीर पुन र महाशय सँगै हुनुहुन्थ्यो। म आफ्नो सीटमा बसेर भीडभाडको बीचमा काम गरिरहेको थिएँ। महावीर पुनलाई शुरुमा चिन्न सकिनँ। उहाँले आफ्नो परिचय दिनु भएपछि अभिवादन गरेँ र उहाँ यस विभागमा आउनु पर्नाको कारण सोधेँ। उहाँले उक्त इराकी नागरिक आफ्नो Wireless Internet Network को कार्यका सघाउन नेपाल आएको र नेपालबाट इराक फर्कने क्रममा टर्कीको भिसा नभएकोले टर्कीको इस्तानबुल अध्यागमनले डिपोर्ट गरी नेपाल फर्काएको बताउनु भयो। इस्तानवुल अध्यागमनले जारी गरेको डिपोर्ट पत्रमा बिना भिसा यात्रा गर्न खोजेकोले डिपोर्ट गरिएको भन्ने व्यहोरा स्पष्टै लेखिएको थियो।
त्यसपछि उक्त इराकीलाई म नजिकैको कुर्सीमा बस्न आग्रह गरेँ र विनम्रतापूर्वक संक्षिप्त बयान लिएँ। अध्यागमन ऐनमा विदेशबाट डिपोर्ट वा इन्ट्रिरिफ्युज भई आउने व्यक्तिहरुलाई एयरपोर्ट अध्यागमन कार्यालयले विभागमा छानबिनको लागि पठाउनु पर्ने र महानिर्देशकले ताकेको अध्यागमन अधिकृतले अनिवार्य रुपमा विस्तृत बयान लिई धरौटी माग गर्न, तारेखमा छाड्न वा अदालतको अनुमति लिई थुनामा राख्न सक्नेछ भन्ने उल्लेख छ।
त्यसपछि हतारमा प्रतिवेदन तयार गरी म आफैले फाइल बोकेर निर्देशकज्यूको कार्यकक्षमा गई उक्त व्यक्ति महावीर पुनको कार्यसँग सम्बन्धित भएको, टर्कीको भिसा नहुँदा डिपोर्ट भई आएको र बयानको आधारमा खराब नियत नदेखिएकोले निजलाई यथासक्य छिटो टर्कीको भिसा वा इराकसम्मको हवाईटिकट पेश गर्नको लागि थप कारबाही केही नगरी धरौटी पनि नलिई महावीर पुनकै जिम्मा लगाएर पठाउने प्रतिवेदन ल्याएको व्यहोरा अनुरोध गरेँ र निर्देशकज्यूबाट सो प्रतिवेदन सदर भयो।
जबकि डिपोर्ट भएर आएकाहरुलाइ धरौटी नलिई अन्य व्यक्तिको जिम्मा लगाएर पठाएको मैले सम्झेसम्मको यो पहिलो घटना थियो।
त्यसपछि मैले उक्त निर्णयको व्यहोरा इराकी नागरिक र महावीरजीलाई सुनाएँ र हवाईटिकट लिन सजिलो होस् भनेर अनुसन्धानको क्रममा रहेको सो इराकीको पासपोर्ट र व्यक्तिलाई महावीरजीको जिम्मा लगाएर पठाएँ। यतिबेलाको समय ठीक १.४५ भएको थियो। गत साउन १८ गतेदेखि भदौ ५ गतेसम्म गरी हरेक दिन २ बजेदेखि ५ बजेसम्म राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भर्खरै अध्यागमन विभागले Document Examination को लागि खरिद गरेको VSC 6000 मेसिनको सञ्चालन सम्बन्धी तालिममा मलाई विभागले खटाएकोले ठीक पौने २ बजे राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार तर्फ लागेँ र २ बजेबाट तालिममा सहभागी भएँ।
यसरी हामीले उक्त इराकीको पहिलो दिनको काम व्यस्तताको बावजुद पनि करिब ४५ मिनेट भित्रमा सिध्याएका हौँ। १ बजे विभागमा आएको मान्छेको काम सिध्याएर उनीहरुलाई विदा गरेर म २ वजे खुमलटार पुगिकेको छु भनेपछि महाशयको घडीले कसरी ५ घण्टा विभागमा कुरेको देखायो ? महाशयको घडीमा १० मिनेटको १ घण्टा पो हुँदोरहेछ कि ? भलै महाशय त्यस दिन १० बजे नै विभागमा आउनु भयो रे, फेरि १० बजेदेखि पौने २ बजेसम्म त जम्मा ३ घण्टा ४५ मिनेट हुन्छ, फेरि पनि ५ घण्टा कसरी भयो ? यसबाट महाशयको खराब नियत र बैगुनी प्रवृत्तिमा कुनै शंका रह्यो र ?
२. महासयको लेखको छैटौ हरफमा साउन २८ गते इराकसम्मको हवाई टिकट लिएर आयौँ तर प्रस्थान पत्र बनाउन दिनभरी लाग्यो भन्ने निराधार आरोप छ। त्यस दिन अर्थात् साउन २८ गते मुद्दा सम्बन्धी कार्यमा अत्यन्त व्यस्त भएकोले खुमलटार तालिममा आधा घण्टा ढिलो आउने खबर साथीहरुलाई गरेको थिएँ। अदालतमा सोही दिन पेश गर्नुपर्ने सम्पूर्ण कागजातहरु तयार भइसकेपछि सो दिन २.१५ बजे तालिममा जान अफिसबाट बाहिरिएको थिएँ। त्यतिबेलासम्म त महाशयको सवारी हाम्रो अफिसमा भएको थिएन। तालिम चलिरहेको थियो, करिब ४ वजेतिर मेरो मोबाइलमा अफिसबाट फोन आयो। मेरो शाखाको एकजना स्टाफले फोनमा “सर, अस्तिको इराकी भर्खरै आएको छ, टर्कीको भिसा त छैन तर इराकसम्मको भोलिकै हवाई टिकट लिएर आएको छ, भोलि सार्वजनिक विदा छ के गर्ने” भनेर सोध्नुभयो। अनि मैले त्यसो भए अस्तिकै प्रतिवेदन माथि तुरुन्त एउटा टिप्पणी उठाएर सदर गराउनुस् र अर्को कुनै शाखाका अध्यागमन अधिकृतलाई सही गराएर आजै काम सकेर पठाइदिनुस् भनेर भनेँ। तारेख वा जमानीमा रहेको व्यक्तिको फाइल टुङग्याउन अनुसन्धान अधिकृतले अनिवार्य रुपमा आफ्नो राय सहितको टिप्पणी निर्णयको लागि महानिर्देशकसमक्ष पेश गर्नुपर्ने र निर्णय गराई सोही बमोजिम गर्ने व्यवस्था अध्यागमन ऐनमा छ। तर उक्त दिन कार्यालयको कामले महानिर्देशक बाहिर जानु भएको भएतापनि फोनको भरमा निर्णय गराएर म तालिममा भएको हुनाले अर्को शाखाको अध्यागमन अधिकृतलाई चिठीमा सही गराई निजलाई प्रस्थान अनुमति जारी गरिएको र त्यसको पर्सिपल्ट मात्र उक्त फाइल महानिर्देशकबाट सदर गराइएको छ, त्यतिबेलासम्म महाशयको इराकी आफ्नो देश पुगिसकेको थियो। यो भन्दा के बढी लचकता र तदारुकता अपनाउन सकिएला र ?
फेरि महाशयले उक्त दिन सो काम सिध्याउन दिनभरी लाग्यो भन्ने हास्यास्पद आरोप लगाउनु भएको छ। दिउँसो २.१५ बजे मात्र म तालिमको लागि बाहिरिएको हुँ। त्यसबेला सम्म त संस्थाका लागि अत्यन्त महत्वपूर्ण मानिने डकुमेन्ट एक्जामिनेसन सम्बन्धी अफिसले खटाएको तालिममा सहभागी भइरहेको अध्यागमन अधिकृतको कुर्सीलाई खाली रहेको भनी फोटो खिची दुष्प्रचार गर्ने महाशय अफिसमा आउनु भएको थिएन। उक्त दिन महाशयको सवारी करिब ४ बजे भएको र पाँच बजेभित्रमा काम सकी कर्मचारी घरतर्फ लागेका छन् भने कसरी महासयले दिनभरी पर्खनु प-यो भनेर भन्नुभयो ? भलै महाशय म तालिममा हिँडेको पाँचै मिनेट अर्थात २.२० मा आउनु भयो रे। तैपनि त दिनभरी कसरी लाग्यो ? महाशयको घडीमा १ घण्टाको १ दिन हुन्छ भने त हामीले के नै गर्न सक्छौँ र !
३. फेरि महाशयले अध्यागमन अधिकृतको रित्तो कुर्सी पनि देखाएर बहादुरी दर्शाउनु भएको रहेछ। अध्यागमन विभागले राहदानी, भिसा लगायतका कागजातको आधिकारिकता परीक्षणको लागि भर्खरै खरिद गरेको VSC 6000 नामको अत्याधुनिक Document Examination मेसिनको सञ्चालन सम्बन्धी तालिम लिन मेरो नेतृत्वमा ६ जना कर्मचारीहरुलाई साउन १८ गते देखि भदौ ५ गते सम्मको लागि हरेक दिन २ बजेदेखि ५ बजेसम्म राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा पठाएको थियो। साउन २६ गते महाशय हाम्रो कार्यालयमा आउँदा त म सिटमै थिएँ, त्यसको फोटो खिच्नु भएनछ। फेरि सोही दिन मैले महावीरजी र इराकीसँग मलाई केही समयमा तालिमको लागि खुमलटार जानु छ भनी हात मिलाएर उहाँहरुलाई विदा गरी पौने २ बजे अफिसबाट बाहिरिएको कुरा महाशयले किन बिर्सनु भयो कुन्नि ? फेरि २८ गते पनि त हाम्रा स्टाफले सर तालिममा हुनुहुन्छ भनेर भनेको कुरा उहाँकै लेखमा छ भने पछि अध्यागमन अधिकृतको रित्तो कुर्सी किन देखाउनु भएको होला ? महाशय, मेरो कुर्सी तालिममा जाँदा मात्र हैन, महानिर्देशकको कक्षमा फाइल पेश गर्न जाँदा, अफिसको काममा बाहिर जाँदा, कार्यालय समय अगाडि-पछाडि र सार्वजनिक विदाको दिनसमेत खाली हुन्छ। तपाई जस्ता कलुषित मनोभावनाबाट ग्रसित व्यक्तिहरुले तालिममा गएकै समयको त किन म ट्वाइलेट जाँदा खाली देखिएको कुर्सीको पनि त फोटो खिची व्यापार गरेको भए के आश्चर्य हुन्थ्यो र ?
४. महाशयले नेपालको अध्यागमनले उक्त इराकी नागरिकलाई अनावश्यक दुःख दिएको भन्ने सम्बन्धमा स्पष्ट पार्न चाहन्छु। नेपालको अध्यागमनले निजलाई साउन २५ गते टर्की हुँदै इराकतर्फ जान सहज रुपमा प्रस्थान गराएको हो। टर्की अध्यागमनले भिसा नभएकोले पुनः नेपालमै डिपोर्ट गरी पठाउनुमा नेपालको अध्यागमनको के दोष, महाशय ? के नेपालको अध्यागमनले टर्कीको भिसा बिना पनि जानै पर्छ भनी ठेलेर पठाएको हो र ?
फेरि महाशयले नेपालको अध्यागमनले उक्त इराकीलाई अपराधीको व्यवहार ग-यो भनी बेतुकको आरोप लगाउनु भएछ। महाशय तपाईँकै लेखको तेस्रो हरफमा भएको व्यहोरा उद्धृत गरौँ न “अनेशलाई टर्कीको भिसा नहुनाले त्यहाँको अध्यागमनले हत्कडी लगाएर जहाजमा हालेर नेपाल पठाएपछि अनेशका दुःखका दिन शुरु भए” अनेशलाई हत्कडी लगाउन नेपालबाटै अध्यागमनका कर्मचारी टर्की गएका थिए कि महाशय ?
हत्कडी लगाएर पठाउने अन्य देशको अध्यागमनको व्यवहार अति राम्रो र उक्त हत्कडी फुकाएर सर्वसाधारण सरह व्यवहार गरी उच्च प्राथमिकताका साथ काम सकाई आफ्नो देश फर्काउने हाम्रो कार्यलाई निकृष्ट देख्ने तपाईको मानसिक सन्तुलनमा शंका गर्ने पर्याप्त आधार छैनन् र ?
अध्यागमन ऐनले अनुसन्धान अधिकृतलाई अनुसन्धानको लागि प्रहरीले पाए सरहको सम्पूर्ण अधिकार दिएको छ। हामीसँग थुनुवा कक्ष छ, हत्कडी छ। कानूनतः अनेशलाई एयरपोर्टबाटै हत्कडी लगाएर अध्यागमन विभागमा ल्याई हाम्रो थुनुवा कक्षमा थुन्न सकिन्थ्यो। महाशय तपाईँको यस विभागमा सवारी हुँदा हाम्रो थुनुवा कक्षमा अनुसन्धानको क्रममा अन्य व्यक्तिहरु बसिरहेको देख्नु भएन ? अनेश एउटा अभियुक्त हुँदाहुँदै पनि थुनुवा कक्षमा नपठाई मसँगैको सोफामा राखी हतारमा म आफैले बयान लिई प्रतिवेदन पेश गरी महावीर पुनलाई बुझाई पठाएको बिर्सनु भयो ? तपाईँलाई हाम्रो चरित्र हत्या गर्न केले प्रेरित गर्यो ? सर्पलाई दूध ख्वाएर पाल्यो भने पछि पाल्ने मानिसलाई नै डस्छ भन्ने नेपाली उखान तपाईँको स्वार्थी व्यवहारले चरितार्थ गर्दैन र ? फेरि महावीर पुन र महाशयसँग आएको विदेशीलाई अध्यागमन कानून लाग्दैन भन्ने कहाँ लेखेको छ ? कसैको निधारमा उसको इतिहास वा योगदान, खराब वा असल भनी लेखिएको त हुँदैन नि, ती विषयहरु अनुसन्धानबाट थाहा हुने कुरा हुन्, त्यसैको लागि अनेशलाई यस विभागमा कानून बमोजिम ल्याइएको हो। अनुसन्धानबाट छाड्न सकिने आधार देखिएकोले छाडिएको हो।
६. महाशयले हामीलाई बूढा र अशिक्षित कर्मचारी भनी आलोचना गर्नु भएछ। मुद्दा शाखाको प्रमुखको हैसियतमा मेरो कुरा गर्ने हो भने म निजामती सेवामा खुल्ला प्रतिस्पर्धाबाट सीधै शाखा अधिकृतमा प्रवेश गरेको भर्खर ५ वर्ष हुँदैछ। मेरो उमेर ३० वर्षको हाराहारीमा छ। तपाईँमा दृष्टिभ्रम भयो कि ? तपाईले हाम्रा शैक्षिक प्रमाणपत्रहरु कहाँबाट प्राप्त गरी हामीलाई अशिक्षितको दर्जामा राख्नुभयो ? महाशय निजामति कर्मचारीको जागिर तपाईँ जस्तो कसैको पिछलग्गु भएर प्राप्त हुने चीज होइन, यो त कानूनले तोके बमोजिमको योग्यता पुगेका हजारौँहजार व्यक्तिहरु बीचबाट कडा प्रतिस्पर्धामार्फत् प्राप्त हुने पद हो। तपाईँसँग क्षमता छ भने हामीसँग प्रतिस्पर्धा गर्न आउनुस्, तपाईँलाई कसले रोकेको छ र ? होइन भने स्यालले रुख चढ्न नसकेर अङगुर अमिलो छ भनी दोष लगाएसरह भएन र ?
फेरि मुद्दा शाखा भनेको अत्यन्त पाका, अनुभवी र दक्ष मानिस चाहिने शाखा हो, हामीले दिनहुँ अदालतमा मुद्दा दर्ता गर्नुपर्ने र मुद्दाको संवेदनशीलतालाई ध्यानमा राखी अक्षरसः रुजु गर्नुपर्ने र समयको पनि ज्यादै ख्याल गर्नुपर्ने भएकोले तपाईँजस्ता हावामा बग्ने गैरजिम्मेवार अल्लारेहरु यस शाखामा काम लाग्दैनन्। त्यसैले, यस शाखामा नयाँ पुराना कर्मचारीहरुको उपयुक्त सम्मिश्रण मिलाइएको छ।
७. महाशयले हाम्रो देशका अध्यागमनका कर्मचारीहरुको व्यवहार बारेमा आलोचना गर्नु भएछ। अन्य देशमा हामी नेपालीहरुलाई गरिने व्यवहार तपाईँलाई भन्दा हामीलाई बढी थाहा छ। उक्त इराकी नागरिक टर्कीबाट डिपोर्ट भई नेपाल बाहेक अन्य देशमा गएको भए ऊ आजसम्म सो देशको अध्यागमनकै कठघरामा हुने थियो। सायद उसले कोर्रा पानि खाइसकेको हुन्थ्यो। उसको साथमा ल्यापटपका त कुरा छाड्नुस जुत्ता, पर्स र बेल्ट पनि राख्न पाउँदैनथ्यो। छानबिनपछि उसलाई हत्कडीले बाँधेर पुलिस लगाएर केही वर्ष त्यस देशमा प्रवेश गर्न नपाउने गरी इराकसम्म पुर्याइन्थ्यो। विदेशबाट डिपोर्ट भै आउने नेपालीहरुले यस विभागमा रुँदै देखाउने कोर्राका डामहरु, अकल्पनीय पीडाहरु र मानसिक रुपमै विक्षिप्त भएका अवस्थाहरुबाट कहाँको अध्यागमन कस्तो छ भन्ने हामीलाई राम्रो ज्ञान छ।
फेरि तपाईँले इराकी नागरिकलाई नेपालमा उचित व्यवहार भएन भनी एउटा नाटक रच्नु भयो, हामी नेपालीकै अवमूल्यन गर्न खोज्नु भयो। महाशय, केही वर्षअगाडि १२ जना निर्दोष नेपालीलाइ अनेशकै देशमा क्रुरतापूर्वक भएको हत्या बिर्सनु भयो ? त्यसबेला अनेशको देशको सरकारले के हेरेर बसेको थियो ? त्यो बर्बरतापूर्ण हत्याकाण्डलाई के भन्नु हुन्छ ? के नेपालमा कुनै विदेशीले त्यस्तो नियति भोग्नु परेको छ ? होइन भने तपाईँ आफ्नै मातृभूमिको किन खोइरो खन्नु हुन्छ ?
तपाईँलाई हामी जस्ता कर्मचारी भएको देशको नागरिक हुनुपर्दा पीडा बोध भएछ, मलाई पनि तपाईँ जस्ता स्वार्थी एवं जुन थालमा खायो त्यही थालमा छेरेर हिड्ने सेवाग्राहीको सेवाप्रदायक हुनु पर्दा कताकता आत्मग्लानीको महसूस हुन्छ।
अन्तमा,
महाशयका लेखका आरोपहरुमा महावीर पुन जस्ता एक इतिहास बनाइसकेका व्यक्ति र उक्त इराकी नागरिकको संलग्नता छ जस्तो लाग्दैन। कहीँ कतै पनि महाशयले महावीरजी र उक्त विदेशीलाई उद्धृत नगरी आफ्ना मनगढन्ते आरोपहरु तेर्साएका छन्। २-४ अक्षर टाइप गर्न जानेको छु भन्दैमा आधारहीनरुपमा हाम्रो चरित्र हत्या गर्ने अधिकार तपाईँलाई कसले दियो ? महाशयको लेख र मेरो प्रतिक्रिया सम्बन्धमा महावीरजीलाई आफ्नो विचार पठाइदिनु हुन अनरोध गर्दछु।
No comments:
Post a Comment