इजरायली प्रबासबाट प्रस्तुत तपाइँ हाम्रै नेपाली वेभ पत्रिकामा स्वागतम्.... ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Wednesday, February 18, 2009

महिला कामदारहरू बारे सर्वोच्चको आदेश

काठमाडौं, (नेस) वैदेशिक रोजगारीमा रहेका महिला कामदारहरूको अवस्था समय-समयमा अनुगमन गर्न बुधबार सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ। न्यायाधीश मीनबहादुर रायमाझी र बलराम केसीको संयुक्त इजलासले त्यस्तो आदेश दिएको हो। जनहित संरक्षण मञ्च (प्रो. पब्लिक) द्वारा दायर गरिएको रिट निवेदनमा वैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो।


मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

काफल छिट्टै पाक्यो

डीआर पन्त

डडेलधुरा, फागुन ६ - बेला न कुबेला काफल लटरम्म पाक्न थालेपछि जिल्लावासी अचम्ममा परेका छन् । मौसम परिवर्तनका कारण दुई महिनापछि पाक्ने काफल अहिले नै गाउँठाउँमा छ्यासछ्यास्ती छ ।
माघ तेस्रो सातातिर बजारमा आएका काफल बिक्री पनि हुन थालेको छ । काफल मात्र नभई लालीगुराँस पनि यसपालि माघमै फुलिसकेका छन् । 'कहिल्यै नभएको घटना भयो,' डालीभरि पाकेका काफल लिएर आएका समैजीका तेजबहादुर महराले भने, 'अलि बढी गर्मी हुने ठाउँमा पनि चैत पहिलो सातातिर मात्र काफल पाक्थ्यो तर मेरो आफ्नै बारीमा लटरम्म काफल पाकेपछि हामी अचम्भित भयौं ।'
बारीभरि काफल पाकेपछि अचम्भित भएर सोध्नका लागि कृषि विकास कार्यालय डडेलधुरा पुगेका महरालाई कार्यालय प्रमुख राजेन्द्र मिश्रले मौसम परिवर्तनका कारण काफल पाकेका र कुनै खराबी नभएको जनाएपछि उनी दंग भएर फर्किए । 'तापक्रम बढेकाले यस्तो भएको हो,' काफल परीक्षणपछि मिश्रले भने, 'अब किसानहरूले पनि बाली लगाउँदा परिवर्तित मौसमलाई ध्यानमा राखी लगाउनुपर्ने भएको
छ ।' काफल अरू वर्षको जस्तै रहेको उनले बताए । समैजी गाविसमा मात्र होइन जिल्लाका उच्च पहाडी क्षेत्रमा पनि माघ अन्तिम सातातिर काफल पाकिसकेका छन् । बगरकोट गाविसको लेक क्षेत्रमा सबैभन्दा बढी काफल पाकेका छन् । यतिबेला हिउँले सेताम्य हुने सदरमुकाममै पनि काफलका राताम्मै बोट देख्न पाइन्छ ।
'माघ महिनाको दोस्रो सातातिर हिउँ पर्ने गथ्र्यो,' मौसम विभागका दिगम्बर मिश्रले भने, 'यसपालि फागुन लागिसक्दा पनि उच्च पहाडी भागमा हिउँ परेको छैन ।' सुदूरपश्चिमको अपी हिम शृंखलामा पनि अहिलेसम्म हिउँ परेको छैन । जल तथा मौसम विज्ञान कार्यालय डडेलधुराको रेकर्डमा पुस-माघमा डडेलधुरा तथा अन्य उच्च पहाडी जिल्लाको अधिकतम तापक्रम यसपालि २९ डिग्री सेल्सियस पुग्ोको छ । यी जिल्लाहरूमा कहिलेकाहीं वैशाख-जेठमा मात्र २९ देखि ३२ डिग्री सेल्सियस अधिकतम तापक्रम पुग्ने गथ्र्यो । मिश्रले भने, 'पुस-माघमै यत्रो तापक्रम बढेको पहिलो घटनाको रूपमा हामीले लिएका छौं ।' वन फँडानी, वातावरणमा प्रदूषण र अनियन्त्रित बसोबासले पनि मौसम परिवर्तन गराएको उनले जनाए । 'यो डडेलधुराको मात्र होइन सबै ठाउँको समस्या हो,' मिश्रले भने । उनका अनुसार सेती नदीसमेत सुक्न थालेको छ । 'कसैले तर्न नसक्ने नदी अहिले बालबालिका पनि सहजै वारपार गरिरहेका छन्,' उनले भने ।

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

सुन तोलाको २८ हजार नाघ्यो

काठमाडौं, फागुन ६ -२०६५
अघिल्लो दिनमा भन्दा तोलामा ५ सय ४८ रुपैयाँ बढेर मंगलबार प्रतितोला सुनको मूल्य २८ हजार रुपैयाँ नाघेको छ । अन्तर्राष्ट्रिय मूल्य पछ्याउँदै स्थानीय बजारमा आकासिएको यो मूल्य हालसम्मकै उच्च हो ।
विवाहको साइतसँगै सुन व्यापार बढ्ने आशामा बसेका व्यवसायी आकासिएको मूल्यबाट चिन्तित भएका छन् । मूल्य आकासिएपछि माग बढ्नुको साटो घटेेको छ ।
'अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजार प्रभावित भएको हो,' नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, 'मंगलबार प्रतितोलामा सुनको मूल्य २८ हजार ४ सय १ रुपैयाँ पुगेको छ ।' सोमबार यो मूल्य तोलामा २७ हजार ८ सय ३५ रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा सोमबारभन्दा बढेर मंगलबार प्रतिआउन्स सुनको मूल्य ९ सय ५७ डलर पुगेको थियो । 'सोमबार प्रतिआउन्स मूल्य ८७ दशमलव ९० पैसा थियो,' अध्यक्ष शाक्यले भने । प्रतिआउन्स मूल्य १ डलर बढ्दा स्थानीय बजारमा तोलामा २० रुपैयाँ बढ्छ । बढेको मूल्यका कारण स्थानीय बजारमा मागसमेत घटेको व्यवसायीले बताए । 'विवाहको सिजनमा सुन बजार भिडाम्भाड हुनेपर्नेमा शान्त छ,' शाक्यले भने । अहिले न्युरोड र विशाल बजार क्षेत्रमा केही बिक्री भए पनि अन्य ठाउँका बजार शान्त भएको उनले बताए । मूल्यवृद्धिकै कारण विवाहको सिजनमा दैनिक २० किलोभन्दा बढी सुन बिक्री हुनुपर्नेमा त्यस्तो भएन ।

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

यसो गरे कसो होला, आईजी सा'ब ?

बधाइ..........बधाइ ...........बधाइ

प्रहरी महानिरीक्षकमा नियुक्त हुनुभएकोमा बधाई । तपाईंको छनोट पक्रिया बारेमा प्रहरी संगठनभित्र सकारात्मक टिप्पणीहरू सुनिएको छ । यस अर्थमा नेपाल सरकारको निर्णय प्रक्रियालाई सम्मान गर्नैपर्छ । यद्यपि यसपटक प्रहरी संगठनभित्रको तथाकथित वणर्ानुक्रमको नियम भत्किएको छ । योग्यता र कार्यक्षमतालाई सरकारले छनोटको आधार बनाएको प्रस्ट छ । तर तपाईंले प्राप्त गर्नुभएको पद र हैसियत सँगसँगै जोडिएको जिम्मेवारी पक्षलाई भविष्यमा के कसरी बहन गर्नुहुन्छ, त्यो सबैका लागि पर्ख र हेरको विषय बनेको छ । यस अर्थमा तपाईंले लथालिङ्ग अवस्थामा रहेको प्रहरी संगठनलाई कसरी समायोजन र व्यवस्थापन गर्नुहुन्छ, त्यसैका आधारमा सरकारको निर्णयको औचित्य पनि सही अर्थमा सावित हुनेछ ।
तपाईंले आफ्नो कान नचिराई टाठो राख्नुहुनेछ भन्ने विश्वास गर्नुबाहेक तत्कालीन विकल्प अरू हुन पनि त सक्दैन । आशा गर्ने र निराशामा परिणत हुने निरन्तरताको क्रम भङ्ग गर्न र तपाईं सफल हुनुहुनेछ भन्ने कामना गर्दै केही सुझाव दिन चाहन्छु ।
साहसको खाँचो
सिङ्गो मुलुक र प्रहरी संगठनप्रतिको जवाफदेहितालाई सर्वोपरी ठान्ने विषयलाई कार्यशैलीको केन्द्रविन्दु बनाउनुहोस् । आफ्नो व्यक्तिगत लाभ र हितलाई लत्याउन सक्ने व्यक्तिमात्र आन्तरिक रूपमै आँटिलो र साहसिक बन्न सक्छ । दास मानसिकताका व्यक्तिहरू भोका र लोभी हुन्छन् । आईजीपीपछि पनि राजदूत बन्ने वा अन्य कुनै लाभका पद प्राप्त गर्ने लोभले कहिल्यै पनि सक्षम र निर्भीक बन्न नसकेको तीतो विगत छ । त्यसैले नेपाल प्रहरीमा तपाइर्ंले देखाउन सक्ने आँटको निर्धारण तपाईंभित्रको त्यागको भावनाले निर्देशित गर्नेछ ।
गुटबन्दीको अन्त्य
विगतमा विभिन्न कारणबाट प्रेरित भई कुनै हाकिमविशेषको नजिकमा रहेको क्षेत्रीय, भेगीय, जातीय आधारमा देखिएको आबद्धता आदि विविध कारणबाट जन्मिएका स्वार्थी गुटलाई चिर्न तपाईंले सम्भावनाको शैली अपनाउनुपर्छ । समकक्षीलाई विश्वास गर्ने, रायसल्लाह लिने, विवादास्पद विषयमा सामूहिक छलफल गर्ने, मातहतलाई आर्थिक तथा प्रशासनिक अधिकार प्रत्यायोजन गर्ने, आईजीपीको दौडको प्रतिस्पर्धामा रहेका समकक्षी एआईजी रवीन्द्र प्रतापको
सहयोग र भूमिकालाई उपयोग र सम्मान गर्ने शैली अपनाउनुहोस् ।
प्रणालीमा सुधार
प्रहरी संगठनको आन्तरिक प्रशासनिक प्रणाली नै कमजोर भएकोले संगठन लथालिङ्ग हुनगएको हो । नियम सबैका लागि, पालना सबैले गर्नुपर्ने भन्ने नियमको सार्वभौम मान्यता विपरीत नियम कानुनको प्रयोग गरिएकै कारण ३० वर्षे, ३२ वर्षे खेल संगठनभित्र मौलाएको छ । संख्यात्मक रूपमा ५६ हजारभन्दा बढी भइसकेको प्रहरी संगठनको सञ्चालनको आधार प्रणाली, प्रक्रिया र पद्धति नै बन्नुपर्छ । २१ औं शताब्दीमा प्रशासन सञ्चालनका विभिन्न नियम र सिद्धान्तहरू बनिसकेका
छन् । तिनीहरूको प्रयोग नेपाल प्रहरीले पनि किन नगर्ने ?
भ्रष्टाचार नियन्त्रण
नेपाल प्रहरी भ्रष्टाचारी बन्नुको मूल कारण कानुनी राज्यको पालना हुन नसकेकोले हो । अपराधी र प्रहरी बीचको सुसम्बन्धको आधार भ्रष्टाचार हो । भ्रष्टाचारबाट आर्जेको रकमले नै व्यावसायिक उन्नतिलाई निर्धारण गर्ने जस्ता गलत परम्पराले यो संगठन कटु आलोचनाको सिकार बनेको छ । लाभको पद र महत्त्वपूर्ण प्रतिस्थानमा सरुवा पाउनका लागि गरिने तँछाड-मछाडको प्रेरक तत्त्व नै बनेको छ, भ्रष्टाचार । विगतमा भ्रष्टाचार र नियन्त्रण संगठनको प्रमुख नीति नै थियो । तर नीति लागू गर्ने र वकालत गर्नेहरू नै अख्तियारको कारबाहीमा परे । सुधारिएको व्यक्तिबाट मात्र सुधारको सम्भावना रहन्छ भनेझैं तपाईंको छवि भ्रष्टाचार नियन्त्रणका लागि उपयुक्त छ । तसर्थ यसलाई खरो तर रीतपूर्वक उपयोग गर्नुहोस् । प्रहरीभित्रै धमिराका रूपमा रहेका सरुवा-बढुवामा समेत शुभलाभको खेल खेल्ने भ्रष्टहरूको पहिचान गरी आन्तरिक शुद्धिकरण अभियान सञ्चालन गर्नुहोस् । प्रहरी संगठन स्वयम्भित्रको कल्याणकारी फन्ड कहाँ छ ? कति छ ? खरिद प्रणाली के हो ? कसैलाई थाहा छैन । सामानहरूको गुणस्तर कहालीलाग्दो छ, नीलो रंगको सर्ट-पेन्ट एउटै धुलाइमा अर्को रंगमा परिणत हुने गर्छ । कति दर-भाउ हो, कसरी खरिद गरियो ? कोही बोल्दैनन् । प्रहरी संगठनभित्रको आर्थिक कारोबारलाई पारदर्शी बनाउनुहोस् र बाहिरी भ्रष्टाचारलाई नियन्त्रण गर्न कडाइका साथ अनुगमन गर्ने प्रणालीको विकास गर्नुहोस् ।
पदीय लिप्तता
आईजीपी बन्नका लागि पहिलोपटक तपाईंले आफ्नो स्पष्ट दृष्टिकोणसहितको कार्ययोजना प्रस्तुत गर्नुभएकाले केही आश जाग्नु स्वाभाविकै हो । तर योजना र दृष्टिकोण आफैंमा केही होइनन् । यसका लागि कार्यान्वयन गर्नसक्ने क्षमता र प्रतिबद्धता जरुरी हुन्छ । विगतका आईजीपीहरूले पनि सुशासन र सुदृढीकरणका ढ्वाङ धेरै फुके, तर अन्त्यमा परिस्थिति, राजनीतिक नेतृत्व र अन्य कुनै पक्षलाई दोष दिँदै आफ्नो लाचारी छोप्ने प्रयास गरे, तर इतिहासले त्यसलाई क्षमा गर्दैन । त्यसैले सक्नुहुन्छ भने कानुनले दिएको अधिकारलाई निर्भीकतासाथ प्रयोग गर्नुहोस् । आफ्नो सही र आवश्यक योजना कार्यान्वयन गर्न नसक्ने अवस्था आएमा काँधभरि फुली लगाएर कुनै व्यक्ति वा दलको जुत्ताको तलुवा बनेर नालायकहरूको पंक्तिमा आफ्नो नाम लेखाउन लागिनपर्नोस् । पद नै सबै कुरा ठान्ने मानसिकताबाट आफूलाई अलग राख्नुहोस् ।
निम्न दर्जाको हित
आजसम्म जति सुविधाहरू, आए सबै माथिल्लो दर्जाको हितमा आए । संगठनको आधारको रूपमा रहेका निम्न दर्जाका हितलाई केन्द्रविन्दु बनाएर निश्चित योजनाहरू लागू गर्नुहोस् । एकै दर्जामा १२-१३ वर्ष बसेको प्रहरी कर्मचारीले कुन मनोबलले काम गर्ला ? उनीहरूको जागिर जीवनको भविष्य के हुने हो ? कसले तोक्ने ? भगवान भरोसा जागिर खाने मान्छेले जनताको कस्तो सेवा गर्ला ? त्यसैले युएन सेवा, पदोन्नति, बिमा, भत्ता, सुविधा लगायतका विषयमा संस्थागत रूपमा एउटा प्रक्रियाको थालनी गर्नुहोस् ।
अन्त्यमा नेपाल प्रहरीलाई आधुनिक, जनमुखी र व्यावसायिक प्रहरी बनाउन गाह्रो छैन । प्रहरीभित्र शिक्षित, ऊर्जावान कर्मचारीको कमी छ्रैन । तर यसको परिचालन र नेतृत्वको कार्यदक्षता, कार्यशैली नै निष्त्रिmय भएका कारण यसले आफ्नो उत्कृष्टताको प्रदर्शन गर्नसकेको छैन । तपाईंले हासिल गर्नुभएको पदीय जिम्मेवारीलाई संगठनको बृहत्तर हितमा प्रयोग गर्ने प्रयास समयमै गर्नुहोस् । समयले पछि तपाईंलाई पनि पर्खिने छैन । समयको अन्तिम क्षणमा प्रहरी संगठनलाई भकुन्डो बनायो, राजनीतिक हस्तक्षेप भयो आदि-इत्यादि विधवा विलापको कुनै औचित्य रहन्न । यसलाई समयमै त्यागको भावनासहित लागू गर्ने प्रयास गर्नुहोस् । यसो गरे कसो होला, आईजीपी साहेव !

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

हत्याको विरोधमा चुरोट कारखाना बन्द

कास
जनकपुरधाम, फागुन ६ - सहकर्मी हत्याको विरोध गर्दै जनकपुर चुरोट कारखानाका कर्मचारीले मंगलबारदेखि कार्यालयको सम्पूर्ण कामकाज बन्द गरेका छन् ।
कारखानामा कार्यरत सुपरभाइजर नरेन्द्र खातीलाई कार्यालयबाट काम सकी घर र्फकने क्रममा सोमबार साँझ अज्ञात हतियारधारी समूहले गोली हानी गम्भीर घाइते बनाएको थियो । पेट र ढाडमा दुई गोली लागेका खातीको उपचारक्रममा जनकपुर अञ्चल अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको थियो । खाती हत्याको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला समूहको धनुषा जिल्ला इन्चार्ज सूर्यदेव सिंहले लिएका छन् ।
हत्याका दोषीलाई पक्राउ गरी कारबाही, मृतकलाई सहिद घोषणा र मृतकका परिवारलाई उचित क्षतिपूर्ति माग गर्दै कारखानाका कर्मचारीले शवसहित विरोध प्रदर्शन गरेका छन् । अञ्चल अस्पतालबाट निकालिएको जुलुस जिल्ला प्रशासन कार्यालय अगाडि शवलाई तेस्र्याएर केहीबेर धर्नासमेत दिएको थियो ।
मृतकलाई सहिद घोषणा, परिवारलाई १० लाख क्ष्ातिपूर्ति तथा दोषीमाथि कारबाही गरिने स्थानीय प्रशासनले प्रतिबद्धता व्यक्त गरेपछि शवलाई अन्तिम संस्कारका लागि लगिएको थियो ।

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

'खाडीमा घरेलु कामदार

कान्तिपुर संवाददाता
काठमाडौं, फागुन ६ - खाडी मुलुकमा महिलालाई घरेलु कामदारका रूपमा पठाउनेबारे नीतिगत अन्योल रहेको विज्ञहरूले खुलाएका छन् । 'लैंगिक समानता र कानुनी आधारमा महिलालाई सबै प्रकारका वैदेशिक रोजगारीमा अवसर छ तर खाडीमा घरेलु कामदारलाई पठाउने/ नपठाउने अनिश्चय भने यथावत् छ,' सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालद्वारा मंगलबार राजधानीमा आयोजित एक समारोहमा संयुक्त अरब इमिरेट्सका लागि राजदूत अर्जुनबहादुर थापाले भने, 'संयुक्त अरबमा आउने घरेलु कामदारमा ८० प्रतिशतको अवस्था राम्रो भए
पनि २० प्रतिशतको अवस्था भने निकै दुःखलाग्दो छ ।' खाडीमा गएका नेपाली महिला कामदारका विषयमा आयोजित छलफलमा राजदूत थापाले हरेक तह र तप्कामा आउने कामदारको मागपत्र अनिवार्य रूपमा दूतावासमा प्रमाणीकरण गर्नुपर्ने नियम बसाल्न जरुरी रहेको बताए । 'कति घरेलु कामदार आए, कतिको अवस्था के छ भन्नेसम्म पनि थाहा हुँदैन,' उनले भने, 'बिचल्ली परेर उद्धारमा आएपछि मात्रै स्थिति थाहा लाग्छ ।'
'विशेषतः भारतीय नाकाबाट हामीकहाँ आउने घरेलु कामदारहरू आर्थिक र सामाजिकस्तरमा पनि नाजुक अवस्थामा रहेको पाइएको छ,' साउदी अरेबियाका लागि
राजदूत हमिद अन्सारीले भने, 'डिमान्ड-लेटर अनिवार्य प्रमाणीकरणको जिम्मा दूतावासलाई दिनु उपयुक्त हुन्छ ।'
कुवेत जेलमा रहेकी डोल्मा शेर्पाले मृत्युदण्डबाट मुक्ति पाए पनि आजीवन कारावासको सजाय बाँकी रहेको जानकारी दिँदै राजदूत अन्सारीले यो कारावासको अवधिलाई पनि कम गर्नमा आफू लागिपर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा युनिफेमकी अध्यक्ष सरु श्रेष्ठ जोशीले महिलालाई वैदेशिक रोजगारीमा पठाउनेबारे स्पष्ट नीति नभएको टिप्पणी गरिन् । सञ्जालका अध्यक्ष गणेश गुरुङ, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका मुकुन्द अधिकारी, पौरखीकी विजया राई श्रेष्ठ, युनिफेमकी सक्तिँदा सिंहलगायतले टिप्पणी गरेका थिए ।

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

'लोकतन्त्रको जग संविधान'

कास
काठमाडौं, फागुन ६ - राष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रको आधुनिक जग हाल्ने चुनौती नेपालीमा आएको उल्लेख गर्दै तोकिएको समयमा नयाँ संविधान निर्माणबाट यो पूरा हुने बताएका छन् ।
५९औं प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै उनले नयाँ संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरूप भौगोलिक, प्राकृतिक, सांस्कृतिक, जातीय, धार्मिक भाषिक र वर्गीय पहिचान बोकेका सम्पूर्ण नेपालीलाई 'नेपाल मेरो हो, म नेपाली हुँ' भन्ने आधार प्रदान गरी राष्ट्रिय एकतालाई अरू दरिलो पार्ने विश्वास व्यक्त गरेका छन् ।
'लोकतन्त्रको बलियो जगमा उभिएर देश बचाउने र बनाउने गहन दायित्व पूरा गर्ने क्षमता हामी नेपालीमा छ,' सन्देशमा भनिएको छ, 'यो विश्वास तब मात्र सार्थक हुन्छ, जब हामी सबै मिलेर तोकिएको समयमा सबैलाई मान्य हुने नयाँ संविधान निर्माण गरी मुलुकलाई दिगो शान्ति, विधिको शासन र आर्थिक समृद्घतिर्फ डोहोर्‍याउन सफल हुन्छौं ।'
उनले कठिन राजनीतिक संक्रमणकाललाई छोट्टयाउने र विभिन्न आन्तरिक एवं बाह्य परिस्थितिका कारण समाजमा विस्तारै बढ्न थालेको निराशा एवं आशंकालाई आशा र भरोसामा बदल्ने चुनौती पनि रहेको उल्लेख गरेका छन् ।

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्