इजरायली प्रबासबाट प्रस्तुत तपाइँ हाम्रै नेपाली वेभ पत्रिकामा स्वागतम्.... ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Wednesday, February 18, 2009

काफल छिट्टै पाक्यो

डीआर पन्त

डडेलधुरा, फागुन ६ - बेला न कुबेला काफल लटरम्म पाक्न थालेपछि जिल्लावासी अचम्ममा परेका छन् । मौसम परिवर्तनका कारण दुई महिनापछि पाक्ने काफल अहिले नै गाउँठाउँमा छ्यासछ्यास्ती छ ।
माघ तेस्रो सातातिर बजारमा आएका काफल बिक्री पनि हुन थालेको छ । काफल मात्र नभई लालीगुराँस पनि यसपालि माघमै फुलिसकेका छन् । 'कहिल्यै नभएको घटना भयो,' डालीभरि पाकेका काफल लिएर आएका समैजीका तेजबहादुर महराले भने, 'अलि बढी गर्मी हुने ठाउँमा पनि चैत पहिलो सातातिर मात्र काफल पाक्थ्यो तर मेरो आफ्नै बारीमा लटरम्म काफल पाकेपछि हामी अचम्भित भयौं ।'
बारीभरि काफल पाकेपछि अचम्भित भएर सोध्नका लागि कृषि विकास कार्यालय डडेलधुरा पुगेका महरालाई कार्यालय प्रमुख राजेन्द्र मिश्रले मौसम परिवर्तनका कारण काफल पाकेका र कुनै खराबी नभएको जनाएपछि उनी दंग भएर फर्किए । 'तापक्रम बढेकाले यस्तो भएको हो,' काफल परीक्षणपछि मिश्रले भने, 'अब किसानहरूले पनि बाली लगाउँदा परिवर्तित मौसमलाई ध्यानमा राखी लगाउनुपर्ने भएको
छ ।' काफल अरू वर्षको जस्तै रहेको उनले बताए । समैजी गाविसमा मात्र होइन जिल्लाका उच्च पहाडी क्षेत्रमा पनि माघ अन्तिम सातातिर काफल पाकिसकेका छन् । बगरकोट गाविसको लेक क्षेत्रमा सबैभन्दा बढी काफल पाकेका छन् । यतिबेला हिउँले सेताम्य हुने सदरमुकाममै पनि काफलका राताम्मै बोट देख्न पाइन्छ ।
'माघ महिनाको दोस्रो सातातिर हिउँ पर्ने गथ्र्यो,' मौसम विभागका दिगम्बर मिश्रले भने, 'यसपालि फागुन लागिसक्दा पनि उच्च पहाडी भागमा हिउँ परेको छैन ।' सुदूरपश्चिमको अपी हिम शृंखलामा पनि अहिलेसम्म हिउँ परेको छैन । जल तथा मौसम विज्ञान कार्यालय डडेलधुराको रेकर्डमा पुस-माघमा डडेलधुरा तथा अन्य उच्च पहाडी जिल्लाको अधिकतम तापक्रम यसपालि २९ डिग्री सेल्सियस पुग्ोको छ । यी जिल्लाहरूमा कहिलेकाहीं वैशाख-जेठमा मात्र २९ देखि ३२ डिग्री सेल्सियस अधिकतम तापक्रम पुग्ने गथ्र्यो । मिश्रले भने, 'पुस-माघमै यत्रो तापक्रम बढेको पहिलो घटनाको रूपमा हामीले लिएका छौं ।' वन फँडानी, वातावरणमा प्रदूषण र अनियन्त्रित बसोबासले पनि मौसम परिवर्तन गराएको उनले जनाए । 'यो डडेलधुराको मात्र होइन सबै ठाउँको समस्या हो,' मिश्रले भने । उनका अनुसार सेती नदीसमेत सुक्न थालेको छ । 'कसैले तर्न नसक्ने नदी अहिले बालबालिका पनि सहजै वारपार गरिरहेका छन्,' उनले भने ।

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

No comments:

Post a Comment