सुर्खेत, वैशाख ५,
(नागरिक)- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले सरकारले घोषणा गरेको स्वरोजगार कार्यक्रममा राजनीतिक हस्तक्षेप भएको आरोप लगाएका छन्।शनिबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै जोशीले यस्तो आरोप लगाएका हुन्। कुन राजनीतिक दलले हस्तक्षेप गर् यो भन्नेचाहीँ उनले खुलाएनन्।स्वरोजगार कार्यक्रमका लागि फारम भर्न न्यूनतम १८ देखि अधिकतम ५० बर्ष उमेर तोकिए पनि राजनीतिक पहुँचलाई प्रयोग गरी १६ देखि ८२ बर्षसम्मका व्यक्तिले फारम भरेको जोशीको भनाई छ। उनले भने 'आमनेपालीको साझा कार्यक्रमलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरी सफल बनाउन हामी सबै सचेत हुनैपर्छ।' स्वरोजगार कार्यक्रम सीप सिकेर रोजगारी गर्न सक्नेका लागि ल्याइएकोले अयोग्य व्यक्तिलाई छनौट गर्न नहुनेमा उनले जोड दिए।सरकारद्धारा संचालित तालिम कार्यक्रमहरु तालिममै सीमित हुने भएकोले पनि स्वरोजगार कार्यक्रममा उद्योग वाणिज्य संघ प्रत्यक्ष संलग्न भएको अध्यक्ष जोशीले स्पष्ट पारे। उनले भने 'यदि स्वरोजगार कार्यक्रम राजनीतिक हस्तक्षेपको सिकार भएन भने हजारौँ नेपाली नागरिकलाई रोजगार वा वेरोजगार बनाउन सकिन्छ।'कार्यक्रममा महासंघका उपाध्यक्ष भाष्करराज कर्णिकारले नयाँ बन्ने संविधानमा स्वतन्त्रतापूर्वक व्यापार व्यवसाय गर्न पाउने अधिकारलाई मौलिक हकका रुपमा उल्लेख गरिनुपर्ने बताए। निजी क्षेत्रलाई अग्रस्थानमा राखेर योजना तय गर्न उनले सरकारलाई सुझाब दिए।
No comments:
Post a Comment